काठमाडौँ- बजेट अभावका कारण नेपाल प्रहरीको नियमित तलब रोकिने देखिएको छ। आवश्यकताअनुसारको बजेट नआउँदा प्रहरीले वैशाखदेखि असारसम्म (तीन महिना)को तलब नियमित नपाउने देखिएको हो।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले चालु आर्थिक वर्षमा बढेको प्रहरीको रकम बराबरको बजेट निकासा नहुँदा तलब नियमिततामा असर पर्ने देखिएको बताए।उनका अनुसार बजेट आइसकेपछि प्रहरीको विभिन्न नयाँ पदहरू कायम भएको र सोहीअनुसार तलब पनि नयाँ मापन भएकोले बजेट अभाव भएको हो।
‘पहिलो त बढेको तलब बराबरको रकम निकासा नहुँदा समस्या भयो,’ उनले भने, ‘अर्को कारण बजेट आइसकेपछि नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ सई जस्ता धेरै पदहरू पनि थपियो। यहीअनुसार बढुवा पनि भयो। बढुवा भएकाहरूको तलब पनि बढ्यो। यसले गर्दा पनि बजेट अपुग भएको हो।’
प्रहरीका अनुसार वैशाखदेखि असारसम्मको तलब एकैसाथ (वैशाख, जेठ र असार) साउनमा खुवाउने सम्भावना छ। तलब खुवाउन भएको अप्ठ्यारोबारे प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई जानकारी गराइसकेको जिसी बताउँछन्।