काठमाडौं – भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत् राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
एअर एम्बुलेन्सबाट उपचारका लागि भारतको नयाँ दिल्ली पुर्याइएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा “सुधार देखिएको” दिल्लीस्थित नेपाली दूतावास र उनको परिवारका सदस्यले जानकारी दिएका छन्।
दूतावासले बिहीवार अपराह्न सार्वजनिक गरेको जानकारीमा उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ।
उपचारमा संलग्न डाक्टरहरूले बिहीबार दिउँसो दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलका स्वास्थ्य अवस्था सुधार हुँदै गएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलले भने– ‘राष्ट्रपतिज्युको उपचार शुरू गरेपछि क्रमिक रूपमा स्वास्थ्य सुधार हुँदै गएको जानकारी उपचारमा संलग्न डाक्टरहरूले दिएका छन् ।’