काठमाडौँ – निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता सम्बन्धी ५ बुँदे निर्देशन जारी गरेको छ । आयोगले आचारसंहिता विपरीत गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ ।
पाँच बुँदे निर्देशन जारी गर्दै आयोगले आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न पनि भनेको छ ।
यही वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ । निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने दिनभन्दा ४८ घण्टा अघि अर्थात् बिहीबार राति १२ बजेदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको छ । उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न अब पाइँदैन ।
त्यसको अनुगमन गर्न विशेष टोली खटाइएको आयोगले जनाएको छ । उपनिर्वाचन हुन गइरहेका सम्बन्धित जिल्लाका जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत निर्देशन दिइएको छ ।