धनगढीः कञ्चनपुरमा घाँस काटिरहेको अवस्थामा एक महिलालाई बाघले आक्रमण गरेको छ। जिल्लाको बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्दमाथि आक्रमण गरेर बाघले बेपत्ता पारेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डांगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरुले भने भागेर ज्यान जोगाएका छन्।
बाघले आक्रमण गरेर बेपत्ता बनाएकी महिलाको अवस्था अज्ञात छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी र स्थानीयले उक्त क्षेत्रमा महिलोको खोजी जारी राखेका छन् । डीएसपी डांगीकाअनुसार ड्रोनको प्रयोग गरेर हेर्दा बाघ खप्टिनाला क्षेत्रमै देखिएको छ ।
बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली मगाइएको प्रहरीले जनाएको छ । बाघ भगाउन प्रहरीले हवाइ फायर समेत गरेको थियो ।