चितवन – चितवनको भरतपुर महानगरपालिका-११ मा रहेको नयाँकिरण मावि मतदानस्थलमा रवि लामिछानेका समर्थकहरुले हुलदंगा गरेपछि झडप भएको छ ।
रवि आफ्ना केही सहयोगीसहित सो विद्यालयको बुथतर्फ जाँदा त्यहाँ रहेका समर्थकहरुले उनको पक्षमा नारा लगाएका थिए । ‘रवि दाइ हाइ हाइ’ भन्दै नाराबाजी भएपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका हुन् ।आक्रमण प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसपछि प्रहरीले उनीहरुलाई रोक्न लाठीचार्ज गरेको थियो । त्यसक्रममा भागाभाग मच्चिएको बताइन्छ ।
‘के को हाइ हाइ ? अहिले नाराबाजी गर्न पाइन्छ ? आचारसंहिता लाग्दैन ?’ भन्दै केही युवाहरुले हुलहुज्जत गरेपछि प्रहरीले रविलाई सुरक्षा दिएर लगेको थियो । ती युवाहरु र प्रहरीबीच झडपसमेत भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहेराले त्यसबेला सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिरहेका थिए । एक कार्यकर्ताले उनको मोबाइल खोसेर फ्याकिदिएको सार्वजनिक भिडियोमा देखिन्छ ।
अहिले त्यहाँको अवस्था सामान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।