चितवन- चितवनको निर्वाचन क्षेत्र नम्बर २ को भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा स्थगित भएको मतदान सुरु भएको छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि स्थगित भएको मतदान सुरु भएको हो । यस्तै कृष्णपुर माविमा पनि रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।
रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ मतदान रोकिएको थियो ।
अवस्था सामान्य भएपछि मतदान पुनः सुरु भएको हो । यस क्षेत्रमा बिहान ७ वजे देखि ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।
निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच चार बुँदे समझदारी भएसँगै मतदान पुनः सुरु भएको हो ।