बैतडी – बैतडीको झुलाघाटमा बसपार्क नहुँदा सवारी साधन पार्किङमा समस्या भएको छ । झुलाघाट सम्म सडक पुगेको भएपनि बसपार्क नहुँदा सवारी पार्किङमा निकै समस्या हुने गरेको चालक दानबहादुर क्षेत्रीले बताए ।
भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट बजारमा दैनिक सैयौं जिपहरु आवतजावत गर्ने भएपनि पार्किङको सुविधा नहुँदा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रही आएको क्षेत्रीले बताए । सडकमा सवारी साधन पार्किङले दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीय व्यापारीहरुले बताएका छन् ।
झुलाघाट भारतसंग जोडिएको नाका भएकाले यो क्षेत्रमा बसपार्क निर्माण अनिवार्य भइसकेको स्थानीयहरुको भनाइ छ । यो नाकाबाट दैनिक सैयौं नागरिक आवतजावत गर्ने गरेका छन् । तर सवारी साधन पार्किङको सुविधा नहुँदा समस्या भएको स्थानीय व्यापारीहरुले बताएका छन् ।
झुलाघाटमा बसपार्क निर्माणका लागि पटक पटक आग्रह गरिएको भएपनि कसैले ध्यान दिन नसकेको स्थानीय व्यापारीहरुको गुनासो रहेको छ ।
केही दिन अघि मात्रै सुदूरपश्चिमका मुख्यमन्त्री झुलाघाट नाकामा पुग्दा स्थानीयहरुले बसपार्क निर्माणका लागि ध्यानाकर्षण समेत गराएका छन् । झुलाघाट नाका पुरानो नाका भएकाले यसलाई व्यवस्थित नाकाको रुपमा विकसित गर्न बसपार्क लगायतका संरचना निर्माण हुनुपर्ने स्थानीयहरुको माग रही आएको छ ।
बसपार्क नभएकै कारण सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता रहेकाले समस्या समाधान हुनुपर्ने सवारी चालकहरुले पनि माग गरेका छन् । झुलाघाटमा बसपार्क नहुँदा साह्रै समस्या हुने गरेको दशरथचन्द नगरपालिका १ का प्रयागराज भट्टले बताए ।