धनगढीः अस्ती शिक्षकले छात्राहरुमाथि यौन द्रुव्यवहार गरेको भन्दै काण्ड मच्चिएको कैलालीस्थित धनगढीको एसपीए कलेजविरुद्ध महिलाहरु उपमहानगरसम्म पुगेका छन्। कलेजमा छात्राहरुमाथि यौन द्रुव्यवहार भइरहेको र त्यसमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरु धनगढी उपमहानगरपालिकामा पुगेका हुन्।
कलेजमा अध्यननरत छात्राहरुमाथि शिक्षकबाट गरिएको यौन द्रुव्यवहारको घटनाप्रति महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले गम्भीर ध्यानाकर्षण गराएका हुन्। त्यो घटनाले बालिका तथा किशोरीको सुरक्षित, सम्मानित र स्वतन्त्रता पुर्वक बाँच्ने अधिकारको खण्डित गरेको उनीहरुको ठहर छ।
घटनाको सत्य, तथ्य छानविन गरी घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही, प्रभावित बालिकाको सुरक्षाको सुनिश्चितताको लागि महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले जोडदार माग गरेको ध्यानाकर्षण पत्र मार्फत जनाएका छन्। उक्त ध्यानाकर्षण पत्र धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दलाई बुझाइएको छ।
यता, प्रहरीले कलेजका शिक्षक चेतराज भट्टविरुद्ध बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए।
सोमबार एसपीमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने शिक्षक भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि जागिर खोसिएको थियो। आरोपित भट्ट सोही दिन पक्राउ परेका थिए।