सप्तरी – सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
टिपरको ठक्करले बोलेरो चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनले बताए । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
Facebook Comments Box