धनगढी: विश्व हिन्दु महासंघकी वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदले भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीलाई भेटेकी छिन्। उनले शुक्रबार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई भेटेर स्वास्थलाभको कामना गरेको कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए।
पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका छन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन्।
आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो। भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो।