काठमाडौँ – ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि यौन शोषण गरेको अभियोगमा विराटनगरका एक जना व्यवसायी पक्राउ परेका छन्।
अहिले २० वर्ष पुगेकी ती किशोरी १५ वर्षको हुँदादेखि जबरजस्ती गर्दै आएको अभियोगमा विराटनगर-६ का ३० वर्षीय मोहम्मद रिजवान अन्सारी पक्राउ परेका हुन्। पक्राउ परेका अन्सारीको विराटनगरमा चस्मा पसल छ।
अन्सारीमाथि ती किशोरीलाई २०७४ देखि जबरजस्ती गरेको अभियोग छ। पहिलो पटक बलात्कार गरेको भिडिओ खिचेको र त्यही सार्वजनिक गर्ने धम्की दिँदै निरन्तर यौन शोषण गर्दै आएको खुलेको मोरङ प्रहरीले जनाएको छ।
यसरी ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीले बताएको छ ।बलात्कारको सिकार बनेकी किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ पनि रहेको थियो।
‘उसले भनेको र गरेको मानेन भने भिडिओ सामाजिक सञ्जालमा हालेर भाइरल गराउने डर त्रास देखाउने गरेको थियो। करणी गरेपछि बसेको गर्भ दुई पटक पतन पनि गराएको छ,’ ती किशोरीले दिएको जाहेरीमा उल्लेख छ।
प्रहरीका अनुसार पहिलो पटक २०७४ सालमा जबरजस्ती करणी गरेको पीडित किशोरीले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।