धनगढी – नेपाली लेखक संघ कैलालीले धनगढीमा प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाएको छ। शनिबार धनगढीमा शुभकामना आदान प्रदान गर्नुकासाथै गायन र रचना वाचन गरी प्रथम राष्ट्रिय लेखक दिवस मनाइएको हो।
संघका कार्यबाहक अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा कलाकार, लेखक, साहित्यकार र गायकहरूको उपस्थितिमा रहेको संघका केन्द्रीय सदस्य गणेश नेपालीले बताए।
नेपाली लेखक संघ संघीय समितिले राष्ट्रिय अनतराष्ट्रीय रूपका दिवसहरू मनाइरहेको सन्दर्भमा लेखक दिवस पनि मनाउनु पर्ने निर्णय अनुसार दिवस मनाइएको उनले जानकारी गराए। दिवस मनाउने सम्बन्धमा गठन गरिएको कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार दिवस देशभर मनाइएको उनले बताए।
काठमाडौंमा रहेको सामाजिक संस्था सरस्वति गुठीका ४५ जना कवि, लेखक, साहित्यकार र बुद्धिजीवीहरूले वि. सं. १९८७ मा पुस्तकालयहरू स्थापना गर्न माग गरेका र माग गर्नेहरूलाई बोलाएर राणा प्रधानमन्त्री भीम शम्शेरले जरिवाना गराएको बैशाख १६ गतेको त्यो दिनलाई दिवसका रुपमा मनाउने निर्णय गरिए पछि दिवस मनाइएको उनले जानकारी गराए।
त्यो घटनालाई इतिहासमा लाइबेरी पर्व पनि भनिने गरेको बताउँदै उनले चेतनाको दियो जलाई समाजमा जागरण ल्याउन अहम् भूमिका निर्वाह गर्दा दण्ड भोगेका ४५ जनाको सम्झना र सम्मानमा राष्ट्रीय लेखक दिवस मनाइएको जानकारी गराए। २००८ सालमा विपी कोइराला, महाकवि लक्ष्मी प्रसाद देवकोटा, नाट्य सम्राट बालकृष्ण सम, ऋद्धिबहादुर मल्ल लगायतका स्रस्टाहरूले स्थापना गरेको नेपाली लेखक संघको ऐतिहासिक पृष्ठभूमिबारे कार्यक्रमका वक्ताहरूले जानकारी गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष जगन्नाथ जोशीले साहित्यकारहरूले समाजका र राजनीतिका विकृति र विसंगतिलाई सशक्त रूपमा प्रहार गरेर राष्ट्रिय र सामाजिक जागरण ल्याउने भएकाले विगतका साहित्यकारहरूको योगदान र साहसको सम्मान र सम्झनामा लेखक दिवस मनाइनु राम्रो कार्य भएको उनको भनाइ छ।
प्राध्यापक एवम् पूर्वअध्यक्ष डिल्लीराज फुलाराले साहित्यले सोच परिवर्तन गर्न अहम् भूमिका खेल्ने भएकोले साहित्यिक अभियान सशक्त बनाउन लेखक संघ कृयाशिल हुनुपर्ने बताए।