काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी निर्णय मान्दिनँ भन्नेहरुले छाडेर जाँदा हुने बताएका छन्। आज कांग्रेस काठमाडौं क्षेत्र–१ ले आयोजना गरेको कार्यक्रममा सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरू पार्टीमा बस्नुको औचित्य नभएको बताएका छन् । उनले कांग्रेसमा बसेर पार्टी कमजोर बनाएर बस्नुभन्दा बाहिरिँदा राम्रो हुने पनि बताए ।
उनले यसपटक चुनावमा कांग्रेस नेता कार्यकर्ताहरूले गर्ने कामको एक/एक हिसाब राखिने पनि बताए । नेता सिंहले गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले र्सिजना गरेर मुलुकको आवश्यकता भएको पनि बताए ।
संविधान जोगाउन पनि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन रहने उनले बताए । स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने सिंहको तर्क छ ।
पार्टीभित्रका केहीले क्रान्तिकारी बनेर गठबन्धनविरुद्ध बोल्दा जनतामा अनावश्यक भ्रम छर्ने काम गरेको उनले बताए । पार्टीभित्र एकथरी समूह नियोजित रूपमा आफ्नो स्वार्थ पूरा नभएपछि चरित्र हत्या अभियानमा लागिरहेको पनि सिंहले बताए ।