काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिहरू उल्टाउने कोसिस भइरहेको दाबी गरेका छन् । अब उपलब्धि रक्षाका लागि सबै क्रान्तिकारीहरू सशक्त आन्दोलित हुनुपर्ने उनले बताएका हुन् ।
माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै दाहालले आफूहरू नजाग्दा स्यालहरू गर्जिरहेको टिप्पणी गरे ।
‘नेपाली जनताका धेरै संघर्षमार्फत प्राप्त उपलब्धिहरू उल्ट्याउने कोसिस भइरहेको छ । हिजो जनयुद्ध, जनआन्दोलनका क्रममा गरिएका बलिदानका असीमित कीर्तिमानप्रति धेरै ठूलो प्रहार हुन खोजेको छ । अहिले हेर्ने हो भने हरेक उपलब्धि उल्टाउन खोज्ने प्रवृत्तिलाई बढावा दिने काम भएको छ । राष्ट्रिय रूपमा अहिले हामी सबै यो प्रतिक्रान्ति र उपलब्धिहरूको रक्षाका निमित्त सशक्त आन्दोलित हुनुपर्ने अवस्था आइलागेको छ,’ प्रधानमन्त्री दाहालले भने ।
उनले अहिले सरकारले गरिरहेका सकारात्मक काम र पहलकदमीमाथि पनि प्रहार भइरहेको दाबी गरे । उनले माओवादी आन्दोलनको विद्रुपीकरण गर्ने र यसलाई आतङ्ककै रूपमा प्रचार गर्ने काम भएको भन्दै आपत्ति जनाए ।
उनले त्यस्ता कुँडाकर्कटहरुलाई जवाफ दिनकै लागि आफूले फागुन १ गत जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय गरेको बताए ।