कञ्चनपुर – नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित एमरेड परियोजना नदी कटानी रोकथाम तथा नियन्त्रणमा सक्रियताका साथ लागिपरेको छ। सोमबार एमरेड परियोजना र पुनर्वास नगरपालिकाको साझेदारीमा दोदा नदी कटानी रोकथाम तथा न्यूनिकरणका लागि ५०० मिटर जैविक तटबन्ध निर्माण कार्यको शुभारम्भ गरिएको छ। यसपूर्व एमरेड परियोजनाको सक्रियतामा शुक्लाफाँटा नगरपालिकामा सुनवरा नदीबाट हुने कटानी रोकथाम तथा न्यूनिकरणका लागि १७५ मिटर जैविक तटबन्ध निर्माण कार्य गरिएको थियो।
आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर पुनर्वास नगरपालिका-९ स्थित सितावस्तीमा ५०० मिटर जैविक तटबन्ध निर्माण कार्यको शुभारम्भ गरिएको हो। पुनर्वास नगरपालिकाका नगर उप-प्रमुख भुलिया कुमारी राना र वडा नम्बर ९ का अध्यक्ष नरबहादुर विकद्वारा संयुक्त रूपमा ४ मिटर बाँसलाई जमिनमा पाइलिङ्ग जैविक तटबन्ध निर्माण कार्यको सुरूवात गरिएको हो। निर्माण कार्यलाई निरन्तरता दिन सितावस्ती सामूदायिक विपद् व्यवस्थापन समितिलाई जिम्मेबारी दिइएको छ।
सो अवसरमा बोल्दै पुनर्वास नगरपालिकाका उप-प्रमुख भुलिया कुमारी रानाले जैविक तटबन्ध निर्माणको लागि पहल गरेकोमा एनएनएसडब्ल्यूए-एमरेड परियोजना प्रति आभार प्रकट गरिन्। उनले विपद्को क्षेत्रमा काम गर्ने एनएनएसडब्ल्यूए-एमरेड परियोजनालगायत सबै संघसंस्थाहरूसँग समन्वय र सहकार्यका लागि नगरपालिका प्रतिबद्ध रहेको बताइन्।
पुनर्वास नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नरबहादुर विकले सितावस्ती समूदाय दोदा नदी कटानको उच्च जोखिममा रहेकोले जैविक तटबन्ध अत्यावश्यक रहेको बताए।
सितावस्ती सामूदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम परियारले आर्थिक रूपमा मितव्ययी तथा सामूदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने भएकाले जैविक तटबन्ध कटान नियन्त्रणको लागि उत्तम विकल्प भएको बताए।
एनएनएसडब्ल्यूए-द्वारा सञ्चालित एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले तटबन्धको स्थायीत्व तथा बलियोपना बढाउन बाढीको पानी सहन गर्न सक्ने, छिट्टै हुर्किने तथा बलियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका जातका बिरूवाहरू लगाउनु पर्ने कुरामा जोड दिनुभयो। उनले भने “तटबन्धमा लगाइएको बिरुवाबाट दोहोरो फाइदा लिनका लागि स्थानीय भू-बनोट र हावापानी सुहाउँदो जातका बिरुवाहरू रोप्नु पर्ने कुरामा परियोजनाले समूदायलाई प्राविधिक एवम आर्थिक सहयोग पनि गर्ने छ।”
सितावस्ती समूदायमा दोदा नदी कटानी नियन्त्रणका लागि रू ९ लाख २ हजार ३८३ मा ५०० मिटर जैविक तटबन्ध निर्माण हुने सम्झौता भएको छ। जसमा पुनर्वास नगरपालिकाको तर्फबाट रू ३ लाख ९९ हजार ७९१ र प्रधानमन्त्री रोजगार कार्यक्रमको तर्फबाट रू १ लाख १८ हजार ७४६ योगदान रहनेछ। एनएनएसडब्ल्यूए-एमरेड परियोजनाले रू ३ लाख ६८ हजार ८२१ लगानी गर्नेछ भने, बाँकी समूदायको जनश्रमदान रहनेछ।