विराटनगर – विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज बिहान मृत भेटिएका छन्।
सप्तरीको विष्णुपुर गाउँपालिका-१ घर भएका अन्दाजी २७ वर्षीय यादव नोबेल अस्पतालको हाड जोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए।
उनी विगत ४ वर्षदेखि विराटनगर-४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर डेरा बस्दै आएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको हो।
दाहालका अनुसार आफू बस्ने कोठाबाट मुनिको भुईँमा घोप्टो परिरहेको अवस्थामा यादवको शव देखेपछि स्थानीयले बिहान ७ बजेतिर प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका हुन्।
चिकित्सक मृत फेला परेको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ। शव भने अहिलेसम्म घटनास्थलमै छ।
घटनास्थलमा भेला भएका आफन्तले घटना शङ्कास्पद रहेको भन्दै गम्भीर ढङ्गले अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउन माग गरेका छन्।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार डेरा बसेको घरको कम्पाउन्डभित्र चिकित्सक मृत फेला परेको जानकारी आउनसाथ अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरेको छ।
प्रहरीले भने डेरा बसेको घरको दोस्रो तलाबाट हाम फालेर डा. यादवले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ। पुष्टि भने बाँकी छ। यद्यपि घटनाको यकिन गर्न विभिन्न कोणबाट अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए।
अस्पतालका प्रबन्धक दाहालका अनुसार डा. यादव ४ वर्षअघिदेखि नोबेलमा कार्यरत थिए।