काठमाडौं – नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमानेपाली भएर नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने बताएका छन् ।
प्रहरीले गृह मन्त्रालयको प्रशासनिक र राजनीतिक नेतृत्वको सहयोगी पक्राउ गरिरहेका बेला एमाले नेता थापाले नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने काम गैरकानुनी हो भन्दै त्यसमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरी कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।
थापाले बिहीबार फेसबुकमा लेखेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ।’
नेपाली भएर पनि नक्कली भुटानी शरणार्थी बन्न तयार हुने, रकम संकलन गर्ने र बुझाउनेहरूलाई पीडित भन्न नमिल्ने भन्दै उनले तिनीहरुको रकम जफत गर्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनुपर्छ ।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता थापाले यो घटनामा कसैको मुख हेर्न नहुने र गैरकानुनी काम गर्ने सबैलाई कारबाही हुनुपर्ने बताउँदै यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउन नहुने उल्लेख गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, एमाले सचिव नेता टोपबहादुर रायमाझी र छोरा सन्दीपलाई पक्राउ गरेको छ ।