बझाङ : जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते भएका छन्। चैनपुर-गोलाई हुँदै तमैल जोड्ने सडकखण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका-४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले ठक्कर दिँदा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी दुई बालिका घाइते भएका हुन्।
घाइते हुनेमा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी ९ वर्षीया आयुष्मा विष्ट र १६ वर्षीया भावना विष्ट रहेका छन्। आयुष्मा विष्टको टाउको, ढाड र छातीमा चोट लागेको छ भने भावना विष्टको टाउको, ढाड र मुखमा गम्भीर चोट लागेको जिल्ला अस्पताल बझाङले जनाएको छ। घाइते दुबैको थप उपचारका लागि धनगढी रेफर गरेको छ।
दुवैजना बालिका काफल बेचेर घर फर्कदै थिए। चैनपुरबाट खप्तडछान्नातर्फ गइरहेको चालक धनराज भटराईले चलाएको से १ ज १०५३ नम्बरको जीपले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जयपृथ्वी नगरपालिका-४ पानकोट पुल अगाडि भीडमुनीमा ठक्कर दिएर फरार भएको जीप जयपृथ्वी नगरपालिका-५ कोटेलीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अहिले चालक र जीप नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख जागेश्वरी भण्डारीले बताए।