धनगढी: सुदूरपश्चिम प्रदेश सभाका सदस्य ओमविक्रम भाट सरललाई आज बिहानै फोन आयो। त्यो फोन थियो, ‘कंचनपुरस्थित कृष्णपुरको वडा नम्बर ९ को राजघाट क्षेत्रमा बाघ आतंक मच्चिएको र नियन्त्रणका लागि पहलका लागि अनुरोध गरिएको।’
त्यसपछि प्रदेश सभा सदस्य सरल सिधै आफ्नो निर्वाचन क्षेत्र समेत रहेको बाघले आतंक मच्चाएको सो क्षेत्रतर्फ लागे। उनले त्यहाँ जादा जिल्लाको वन कार्यालय र कृष्णपुर नगरपालिकालाई पनि सम्पर्क गरेर समन्वय गरेका थिए।
त्यहाँ गएर प्रदेश सभा सदस्य सरलले आजै अनुगमन गरेको र सो क्षेत्रमा क्यामेरा जडान समेत गरिएको बताए। उनका अनुसार वनदेवी सामुदायिक वन र सीता सामुदायिक वनमा क्यामेरा जडान गरिएको हो। वन कार्यालयसंगको सहकार्यमा क्यामेरा जडान गरिएको उनले बताए। क्यामेराबाट केही दिनमै उक्त जनावर बाघ वा चितुवा के हो ? भन्ने कुरा खुल्ने बताइएको छ। उक्त जनावरले अहिलेसम्म सो ठाउँमा एक बाख्रा, पाडो र गाईको ज्यान लिएको छ।
यस्तै सो क्षेत्रमा भएको क्षतीको विवरण संकलन गरेर राहतका लागि आवश्यक पहल गर्ने पनि उनले जनाए। त्यस्तै आजै उनले सो क्षेत्रमा रहेको सडक तथा तटबन्धको पनि अनुगमन गरेका थिए। सो क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको उनको भनाई छ।