बझाङः बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय बन्द गरिएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि असारसम्मका लागि विद्यालय बन्द गरिएका हुन् ।
अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताए । उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली, मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि बन्द भएका छन् ।
उत्तरी भेगमा अवस्थित दूरदराजका विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टा एक महिना बिदा दिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।
गाउँपालिकामा यार्सा सङ्कलनकर्ताबाट सात लाख नौ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । यही वैशाख १० गतेदेखि यार्सा सङ्कलनका लागि वन खुल्ला गरिएको थियो । गाउँपालिकाको तथ्याङ्कअनुसार सोही दिनदेखि आजसम्म सात सय ५२ जना यार्सा सङ्कलनका लागि पाटन प्रवेश गरेका छन् ।