कैलाली: कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालनमा आएको छ । धनगढी उ महानगरपालिका-१६ को बेहडाबाबा मन्दिरको महादेवा तालमा मोटरबोट सञ्चालनमा आएको हो ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले मोटरबोटको उद्घाटन गरेका छन् । बेहडाबाबा मन्दिर व्यवस्थापन समितिसँग नेपाल बोट एण्ड अम्युज्मन्ट्ले बोट सञ्चालनका लागि तीन वर्षे सम्झौता गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए ।
आन्तरिक पर्यटन विकासका लागि भन्दै सो तालमा कम्पनीले ६ बोट सञ्चालनमा ल्याउने तयारी गरेको छ । तालको मध्य भागमा रहेको महादेवा अर्थात गङ्गा मन्दिरमा पूजा गर्न जान प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्नेछ भने मोटर बोटमा पूरै तालमा सयर गर्न प्रतिव्यक्ति तीन सय शुल्क लाग्नेछ ।
यस्तै, सानो बोट एक घण्टा चलाउँदा पाँच जनाको समूहले पाँच सय शुल्क तिर्नु पर्नेछ । १९ हेक्टर क्षेत्रफलमा फैलिएको महादेवा तालको वरिपरि पदमार्ग निर्माणको काम भइरहेको छ ।