बैतडी: बैतडीको एक विद्यालयका विद्यार्थी बिरामी हुन थालेपछि स्थानीय पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोगका लागि गुहारिएको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ स्थित रायपुर आधारभूत विद्यालयका विद्यार्थीहरु एक्कासी ढल्ने, काँप्ने हुन थालेपछि विद्यालयले सहयोगका लागि गुहारेको हो । पालैपालो रुने, कराउने, एकले अर्कोलाई देखेर सामूहिक रूपमै चिच्याहट गर्ने, लड्ने समस्या विद्यार्थीमा देखिन्छ ।
विद्यालयले कहिले विद्यार्थी ६ महिनासम्म बिरामी हुने त कहिले २/३ महिना बिराएर फेरि बिरामी भइहाल्ने समस्या रहेको जनाएको छ । केही दिनका लागि अन्य विद्यालयमा सर्दा पनि समस्या समाधान नभएको भन्दै विद्यालयले अमचौरा स्वास्थ्य चौकी, वडा नम्बर ४ को कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय बैतडी र पञ्चेश्वर गाउँपालिकालाई समस्याको हल निकाल्न पहल गरिदिन आग्रह गरेको छ ।
उक्त विद्यालयका प्रधानाध्यापक भरतबहादुर चन्दले यो समस्या विगत एक दशकदेखिको भएको बताए । उनका अनुसार विद्यार्थीहरुमा यो समस्या २०६९ सालबाटै देखिन थालेको हो ।