काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले पहिचान र अधिकारको माग गरिएको टिकापुर आन्दोलन किन राजनीतिक नभएको भन्दै प्रश्न गरेका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी हुँदै सांसद चौधरीले टिकापुर आन्दोलन किन राजनीतिक नभएको भन्दै प्रधानमन्त्री प्रश्नलाई प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याए पनि सफल नभएको बताए । ‘रेशमलाल चौधरीको विषयमा यसअघि समेत अध्यादेश ल्याएर भए पनि छुटाउन प्रयास गरेकै हो । अदालतबाट जे जस्तो फैसला भए पनि कुनै न कुनै रूपमा आवाज उठाएकै हो । यो विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा निक्कै गम्भीर छौँ । यसमा छिट्टै टुङ्गोमा पुग्ने छौँ’ प्रचण्डले भने ।
२०७२ सालको टिकापुर घटना लक्षित बनाएर सर्वोच्च अदालतको फैसलालाई नागरिक उन्मुक्ति पार्टीले सम्मान गर्दछ । सर्वोच्च अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्छ । पहिचान सहितको हक अधिकार माग गरिएको आन्दोलन सर्वोच्च अदालतबाट गरिएको फैसला न्यायपूर्ण भयो र ? २०७२ सालमा थारुहरूले आफ्नो हक अधिकार र पहिचान माग्दा घुसपैठ गरी घटाएको पूर्व योजना सहितको टिकापुर घटना किन राजनीतिक घटना भएन ? लाल आयोगको प्रतिवेदन सार्वजनिक किन गरिएन ? टिकापुर घटनामा निर्दोष भएका व्यक्तिलाई क्षतिपूर्ति कसले दिन्छ ? ती व्यक्तिलाई तत्काल क्षतिपूर्ति कहिले दिइन्छ ? भन्ने प्रश्न उनले गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने- ‘लाल आयोगको प्रतिवेदनका विषयमा यसअघि नै प्रस्ट पारिसकेको छु । यो प्रतिवेदन सार्वजनिक गर्नेपक्षमै छौँ । म नै प्रधानमन्त्री हुँदा आयोग गठन भएको हुनाले त्यसमा जे जस्ता व्यवहारिक कानुनी जटिलता छन् । ती सबै फुकाएर मात्रै सार्वजनिक गर्न सकिन्छ ।’
राजनीतिक आन्दोलनको क्रममा बन्दीको जीवन बिताई रहेका सम्बन्धमा संसदमा विधेयक पेश भइसकेको छ । विधेयक छिट्टै निष्कर्षमा पुग्ने विश्वास दिलाउन चाहन्छु । थारुहट आन्दोलन मात्रै होइन मधेस आन्दोलन लगायत अन्य आन्दोलनसँग सम्बन्धित बन्दीहरूको सम्बन्धमा रिहाइ गर्न विधेयकमा रहेको जानकारी गराउन चाहन्छु । यो विधेयक पेश भइसकेकाले छिट्टै पारित गर्दैछौं । त्यसपछि बन्दी रिहा गर्ने बाटोमा अघि बढ्ने छौँ । रेशमलाल चौधरीको विषयमा जसरी प्रश्न राख्नुभएको छ । उहाँको विषयमा यसअघि समेत अध्यादेश ल्याएर भए पनि छुटाउन प्रयास गरेकै हो । अदालतबाट जे जस्तो फैसला भए पनि कुनै न कुनै रूपमा आवाज उठाएकै हो । यो विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा निक्कै गम्भीर छौँ । यसमा छिट्टै टुङ्गोमा पुग्ने छौँ ।