कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका– ८ धारा पानी गाउँमा बस्दै आएका साईमले धामीलाई खानेपानी कै चिन्ता छ । जेठको बढ्दो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न उनलाई हम्मे हम्मे छ ।
गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ’, उहाँले भन्नुभयो, ‘बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प नहुँदा ५६ वर्षदेखि खोलाकै पानी प्रयोगमा ल्याउँदै आएका छौँ ।’ चुरेफेदीको धारा पानी गाउँमा २२ परिवारको बसोबास रहेको छ ।
वि.सं २०२४ साल अघिदेखि बस्ती बसेको धारा पानी गाउँका बासिन्दाले खानेपानी का रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । खोलाको पानी पिउने, लुगा धुने र गाईबस्तुलाई खुवाउने कार्य हुँदै आएको छ ।
बाध्य भएर धारा पानी खोलाको पानी पिउँदै आएको बालाराम गौतमले बताए । ‘गर्मीका बेला चुरे क्षेत्र भएर बग्ने खोला सुक्ने गर्दछन्’ उनले भने, ‘घरका एक जनाको काम पानी खोज्नमै बित्छ, हिउँदका बेला पानीको त्यति समस्या हुँदैन, बर्सातका बेला खोलाको धमिलो पानी थेग्राएर पिउनुपर्ने बाध्यता छ ।’
असुरक्षित पानी पिउनुपर्ने भएकाले पानीजन्य रोगबाट स्थानीय बासिन्दा बिरामी हुने गरेको उनको भनाइ रहेको छ । खानेपानी आयोजना निर्माणका लागि पटक पटक सम्बन्धित निकायमा पुगे पनि कार्य अगाडि बढ्न नसकेको उनले बताए ।
‘गत वर्ष वडा कार्यालयले खानेपानी आयोजना निर्माणका लागि कार्य अगाडि बढाए पनि गाउँसम्म पानी पुग्न सकेन’, उनले भने, ‘थोरै बजेटले खानेपानी आयोजना निर्माणको कार्य अधुरो अपुरो रहेको छ’, धारा पानी गाउँमा विद्युत् पनि पुग्न सकेको छैन । स साना बालबालिकालाई पढ्नका लागि बाल विकास केन्द्र पनि रहेको छैन ।
गाउँमा विद्यालय नहुँदा पाँच किलोमिटर टाढाको विद्यालयमा बालबालिकाले पढ्नका लागि पैदल जानुपर्ने बाध्यता रहेको छ । चुरेको दुर्गममा रहेको बस्तीमा अभावै अभाव रहेको मोहनसिंह धामीले बताए ।
‘बाह्य क्षेत्रमा व्यक्ति यस क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि यहाँ पुग्ने गर्दछन्’, उनले भने, ‘यहाँ बसोबास गर्ने बासिन्दा आधारभूत सेवाबाट वञ्चित रहेका छन्’, वडाध्यक्ष बहादुरसिंह महराले धारा पानी गाउँका बासिन्दाका लागि खानेपानी, विद्युत्लगायतका आधारभूत सेवा उपलब्ध गराउनका लागि प्रतिबद्ध भएर लागेको बताए ।
‘केही महिनाभित्रै विद्युत् सेवा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाएका छौँ’, उनले भने, ‘खानेपानी आयोजना सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारसँग माग गरेका छौँ, नगरपालिकाको थोरै बजेटले खानेपानी आयोजना सञ्चालन गर्न नसकिने भएकाले अन्य निकायलाई गुहारेका छौँ ।’
वर्षौँदेखि चलन भोग गर्दै आएका धारा पानी गाउँका बासिन्दाको जग्गाको स्वामित्व प्रदान गर्नका लागि जग्गा नाप जाँच प्रक्रिया अगाडि बढाइएको उनको भनाइ रहेको छ ।
धारा पानी गाउँलाई नगरपालिकासँग जोडनका लागि सडक पूर्वाधारका कार्य अगाडि बढाइएको उनले उल्लेख गरे ।