कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको विपद् व्यवस्थापनका लागि पूर्वानुमानमा आधारित विपद् पूर्वकार्य कार्यविधि तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ।
दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए०, डीसीए नेपाल, र इन्स्च्युट अफ हिमालयन रिस्क रिडक्शनको सहकार्यमा शुक्रबार दुई दिने कार्यशाला सम्पन्न भएको हो।
बाढीको उच्च जोखिममा रहेको दोधारा चाँदनी नगरपालिकाका वडा नम्बर ८, ९ र १० मा मौसम पूर्वानुमानको आधारमा विपद् न्यूनिकरणको लागि के(कस्ता क्रियाकलापहरू गर्न सकिन्छ भन्ने विषयमा बन्ने कार्यविधिको लागि मस्यौदा तयार पार्ने उद्देश्यले सो क्षेत्रका सरोकारवालाहरूसँग कार्यशाला गरिएको हो।
कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकासँगै देशका अधिकांश पालिकाहरूले विपद् व्यवस्थापन तथा न्यूनीकरणका क्रियाकलापहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको बताए। उनले कार्यशालामा तयार पारिएका मस्यौदाहरूलाई आवश्यक परिमार्जन, विपद् पूर्वकार्य कार्यविधि तर्जुमा र त्यसलाई पारित गर्ने कुरामा नगरपालिका गम्भीर रहेको बताए।
दोधारा चाँदनी गरपालिकाका विपद् सम्पर्क अधिकारी रघुनाथ भट्टले विपद् व्यवस्थापनको कार्य स्थानीय तहले नगरी नहुने कार्य भएपनि त्यसलाई प्रथमिकतामा पार्न नसक्नु विडम्बना भएको बताए। उनले विपद् व्यवस्थापन तथा न्यूनिकरणको लागि पूर्वानुमानमा आधारित विपद् पूर्वकार्य कार्यविधि तर्जुमा सम्बन्धी काम अगाडि बढाएकोमा एनएनएसडब्ल्यूए र डीसीए नेपाललाई धन्यवाद दिए।
जल तथा मौसम विज्ञान विभागका प्रमुख सञ्जय शाहले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरेर पूर्व तयारी गर्नसके विपद्को जोखिमलाई धेरै हदसम्म कम गर्न सकिने बताए।
डीसीए नेपालका जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन प्रमुख दिनेश गुरुङ्गले विपद् पूर्वकार्य कार्यविधि तर्जुमा तथा त्यसलाई पारित गर्नमा प्राथमिकताका साथ लाग्न दोधारा चाँदनी नगरपालिकालाई आग्रह गरे। उनले ४ लेनको पुलमा पूर्वसूचना प्रणालीलाई प्रवद्धन गर्ने उपकरणहरू जडान गर्नमा पनि जोड दिए।
इन्स्च्युट अफ हिमालयन रिस्क रिडक्शन (ईएचआरआर) का प्रमुख डा. सञ्जय देवकोटाले महाकालीमा २०७८ साल कार्तिकमा आएको बाढीले दोधारा चाँदनी नगरपालिकाको जोखिमयुक्त स्थानमा ठुलो क्षति गरेको स्मरण गर्दै ईएचआरआर-ले पर्शुराम नगरपालिकामा रहेको वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानेर बाढीको एउटा अध्ययन गरेको बताए। उनले सो अध्ययनबाट आएको कुराहरूले विपद् पूर्वकार्य कार्यविधि बनाउनमा सहयोग पुग्ने बताए।
एनएनएस़डब्ल्यूए, सुध्रिड परियोजनाका नगरपालिका विकास अधिकृत (एमडीओ) गणेश ठगुन्नाले कार्यशालामा विपद् जोखिम तथा त्यसको प्रभाव न्यूनिकरणको लागि मौसम पूर्वानुमानमा आधारित ३० दिन अगावैको सूचना पाए कस्तो पूर्व तयारी गर्ने, १५ दिनको सूचना पाए के गर्ने, ७ दिनको सूचना पाए के गर्ने र २४ घण्टा वा सोभन्दा कम अवधीको सूचना पाए के गर्ने भन्ने विषयमा छलफल भएको बताए।
एनएनएस़डब्ल्यूए, सुध्रिड परियोजनाका नगरपालिका विकास अधिकृत (एमडीओ) गणेश ठगुन्नाले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण दिनानाथ भण्डारीले गरेका थिए। कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, विभिन्न शाखा प्रमुखहरू, प्रभावित वडाका अध्यक्षहरू, सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरू र उत्थानशील युवा सञ्जालका सदस्यहरूको उपस्थिति रहेको थियो।