झापा :भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा जिल्ला कमल गाउँपालिका- ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
शनिवार बिहान ११:०५ बजेको समयमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर चेकजाँच गर्ने क्रममा राईलाई १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। उनी यति एयरलाइन्स चढेर काठमाडौँ जान लागेकी थिइन्।
राईले लगाएको भित्रीबस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी ब्राउन सुगर लैजान खोजेका थिए। उनको साथमा रहेको नागरिकता र रेडमी मोबाइलसमेत बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताए।