धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिवार सरकार विस्तार गरे। नेपाली काँग्रेसका दलका नेतासमेत रहेका शाहले आफू नियुक्त भएको एक सय दिनपछि सरकार विस्तार गरेका हुन्।
तर, अझै सरकार भने पूर्ण हुन सकेको छैन। सत्ता साझेदार दलको रुपमा रहेको रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा नगएपछी सरकार अपूर्ण बनेको हो। सो पार्टीले मुख्यमन्त्रीसमक्ष सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्रीको डिमाण्ड गरेका थिए। तर त्यसमा भागवण्डाका क्रममा उनीहरुको माग पूरा हुन सकेन।
त्यसै कारण उनीहरुले आफ्नो पार्टी सरकारमा नगएको बताएका छन्।
भागवण्डाका क्रममा गठबन्धनभित्र सामाजिक विकास मन्त्रालय माओवादी केन्द्रले लिएपछि नागरिक उन्मुक्ति चिढिएको हो। नागरिक उन्मुक्ति पार्टीका एक नेताले आफ्नो अपमान भएको बताएका छन्। सुदूरपश्चिममा गठबन्धनले नाउपालाई एक मन्त्रालय र एक राज्यमन्त्री लिन आग्रह गरेका थिए।
हिजो सरकारमा नगएको सो पार्टीले आज यसबारे छलफल गर्ने जनाएको छ। तर, नागरिक उन्मुक्तिका लागि सरकारले भने अहिलेसम्म भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेको छ।
सुदूरपश्चिममा १९ प्रदेश सभा सदस्य रहेको काँग्रेसले मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय राखेको छ। काँग्रेसबाट मुख्यमन्त्रीमा शाह, भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिँह छन्। दोस्रो ठुलो दल माओवादीबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपट साउँद र वन राज्यमन्त्रीमा गीता मालले शनिवार शपथ खाएका थिए। ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीले दुई मन्त्रालय र एक राज्यमन्त्री लिएपछि नागरिक उन्मुक्तिको भाग खोसिएको हो।