धनगढीः टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई सरकारले रिहा गर्ने तयारी गरेको बताइएको छ। स्रोतका अनुसार हालै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको हो। उनलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको बताइन्छ।
कैद मिनाहा गरी रिहाइका लागि डिल्लीबजार कारागार कार्यालयमार्फत रेशमले महान्यायाधिवक्ता कार्यालयमा पत्राचार समेत गरिसकेका छन्। यस्तै सो पत्र माफी मिनाहाको प्रक्रिया अगाडि बढाउनका लागि गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको कारागार स्रोतले बतायो।
गृहबाट रेशमलाई माफी दिने प्रस्ताव मन्त्रिपरिषदमा जाने र त्यहाँबाट निर्णय भएर राष्ट्रपति कार्यालयसमक्ष सिफारिश गरिने गृह स्रोतले जानकारी दियो। माफी मिनाहा वा कैद कट्टाको विषयमा गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकबाट पारित गराएर राष्ट्रपति कार्यालयमा नामावली पठाउने गर्छ। त्यसपछि राष्ट्रपतिमार्फत कैद मिनाहा हुने गरेको छ।
२०७२ सालमा टीकापुरमा भएको आन्दोलनका क्रममा हिंसा भड्किँदा उच्च प्रहरी अधिकारी र नाबालकसहित ७ जनाको मृत्यु भएको थियो। त्यही घटनाको मुख्य योजनाकारका रूपमा जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेको थियो। उक्त फैसलालाई उच्च अदालत दिपायल हुँदै सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ।
1 Comment
नेपालकाे कानुन( सर्वोच्च ले दाेषि ठहर गरेर जन्मकैद गरेकाे निर्णयलाई कैद मिनाहा गर्ने अरे थुक्क कुकुरहरू )