महेन्द्रनगर: कन्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई आर्थिक सहायोग प्रदान गरिएको छ ।
गत बैशाख ८ गते बाघको आक्रमणबाट मृत्यु भएकी बेलौरी नगरपालिका–८ पचुईकी ४२ वर्षीय गंगा चन्दको परिवारलाई १० लाख राहट वितरण गरिएको हो।
मृतक चन्दको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मृतकका श्रीमान डम्बर चन्दलाई राहत रकम हस्तान्तरण गरेका थिए। यसअघि मृतक चन्दको परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले किरिया खर्च बाफतको ५० हजार रुपैयाँ सहयोग गरेको थियो।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका बमोजिम नियमानुसार पाउने राहत रकम मृतका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
राहत वितरण कार्यक्रमा प्रमुख जिल्ला अधिकारी अर्यालसँगै डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारी, बेलौरी नगरपालिका–८ का अध्यक्ष बिसराम राना, कुण्डा सब डिभिजन बन कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो।
घटनापछि सदर चिडियाखाना पुर्याइएको उक्त बाघलाई महारानी नाम दिइएको थियो ।