धनगढी: डोटीमा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ। अन्य सात जना घाइते भएका छन्। बुधबार राति जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको हो।
यस्तै लहरी नागरीकी १० वर्षकी छोरी तारा नागरी,
८ वर्षका छोरा अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउन लागिएको एसपी शर्माले बताए।
उता बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।