काठमाडौं: पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि धनगढी विमानस्थल विस्तारको नाममा करोडौं रुपैयाँ अपचलन र अनियमितता गरेको आरोप लागेको छ। सोही आरोपको उजुरीपश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंले अनुसन्धान थालेको छ।
उजुरीमा आलेले तत्कालीन समयमा मन्त्री पदको दुरुपयोग गरी निजी स्वार्थमा सरकारी बजेट दुरुपयोग गरेको उल्लेख छ।
दर्ता नम्बर ८१८२ सी-०५५९०९ रहेको उजुरीका अनुसार, मन्त्री हुँदा आलेले नागरिक उड्डयन प्राधिकरणको खाताबाट १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गराई उक्त बैंकसँग मिलेमतो गरी सोही रकम धितोमा राखेर पुनः १ अर्ब ऋण लिएका थिए। सो ऋणको रकमबाट उनले धनगढी विमानस्थल आसपासको क्षेत्रमा ७५ करोड बराबरको ३० बिघा जग्गा खरिद गरेको उजुरीमा उल्लेख छ।
उक्त योजनामा आलेका स्वकीय सचिव हेमन्त रेग्मी, मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, ठेकेदार तथा विचौलिया पवन गुप्ता पनि संलग्न रहेको आरोप छ। उनीहरूले प्रति कट्ठा साढे १२ लाखका दरले जग्गा किनेर पछि विमानस्थल निर्माण भएपछि प्रति कट्ठा ५० लाखमा बेच्ने योजना बनाएको उजुरीमा भनिएको छ।
२०७८ पुस ११ गतेको बैठकमा मन्त्री आलेको अध्यक्षतामा नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि १ अर्ब रुपैयाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। तर, योजना कार्यान्वयन नहुँदै मन्त्री आले पदमुक्त भएपछि विस्तार योजना अलपत्र परेको र त्यससँगै उनीहरूको मुनाफा आर्जन गर्ने योजना पनि धरापमा परेको उजुरीकर्ताको दाबी छ।
उजुरीमा उल्लेख अनुसार, योजनाअनुसार नखर्चिएको रकममध्ये २५ करोड रुपैयाँ पनि आले समूहले व्यक्तिगत रूपमा कुम्ल्याएको आशंका गरिएको छ। हाल उक्त उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइसकेको छ र छानबिन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
यस्तै अख्तियारले सो विषयमा मन्त्रालय र नेपाल उड्डयन प्राधिकरणलाई समेत पत्र काटेको छ। प्राधिकरणलाई ७ दिनभित्र सम्बन्धित कागजात एवं स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
यस विषयलाई महेन्द्रनगरपोष्टले सुरुमा उजागर गरेकोमा उजुरी परेपछि अनुसन्धान थालिएको हो। आले उनै पात्र हुन्, जो एमाले हुँदै हाल नेकपा एकीकृत समाजवादी पार्टीका डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य छन्। तर उनी अहिले पार्टीमा निष्क्रियजस्तै छन्।
केही समय अगाडिमात्र आलेले आफू मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफूले पार्टीको दबाबमा नियुक्त गरेको समेत बताएका थिए।
उसो त आलेले तत्कालीन अवस्थामै यी सबै विषयहरु यदी अख्तियारमा जाने अवस्था बने भने त्यसको लागि पनि अख्तियारका आयुक्त जयबहादुर चन्दलाई विमानस्थल आसपास सो जग्गा किन्ने कम्पनीको सेयरधनी बनाएर अख्तियार मिलाउने जिम्मा दिएका थिए। तर अन्ततः यो प्रकरण अहिले अख्तियारमा पुगेको हो।
र, यो पनि: धनगढी एयरपोर्ट बनाउने भन्दै आले समूहको ‘अर्बको सेटिङ’, बैंकदेखि अख्तियारसम्म कनेक्सन
धनगढी एयरपोर्टको जग्गा सेटिङकाण्डमा आफ्नो संलग्नता नरहेको रेग्मीको दाबी