धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीकी दोस्री पत्नी रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्न निर्देशन दिएकी छन्।
पार्टीका प्रदेश संसदीय दलले मन्त्री छनोट गर्ने अधिकार केन्द्रलाई प्रत्यायोजन गरेपछि श्रेष्ठले मंगलबार प्रदेशसभा सदस्य चौधरीलाई मन्त्री बनाउने निर्णय लिएकी हुन्। श्रेष्ठले संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै कैलाशलाई मन्त्री बनाउने निर्देशन दिएको नाउपाले जनाएको छ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनसम्बन्धी विवादित अडियो सार्वजनिक भएपछि १६ चैतमा राजीनामा दिएका थिए। त्यसयता मन्त्रालय रिक्त थियो।
नयाँ मन्त्री चयनका लागि मंगलबार नाउपाको प्रदेश संसदीय दलको बैठक बसेको थियो। तर बैठकले केन्द्रलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो। सोही पत्रका आधारमा अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी हुन्। कैलाश यस अगाडि पनि मन्त्री बनेकै पात्र हुन्।