धनगढी: कञ्चनपुरको गड्डाचौकी क्षेत्रबाट खैरो हेरोइनसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश कार्यालयबाट वरिष्ठ सई केशव जोशीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकीमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ बस्ने २४ वर्षीय रविन्द्र चन्द र २२ वर्षीय चेतन चन्द रहेका छन्। उनीहरू सु.प.प्र.०२००३ प ३८९७ नम्बरको स्कुटरमा शंकास्पद रूपमा आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।
स्कुटरको पछाडि सवार चेतन चन्दको हातमा कालो प्लाष्टिकमा बेरिएको एक पोका फेला परेको प्रहरीले जनाएको छ। सो पोका खोल्दा ७.९९ ग्राम खैरो हेरोइन भेटिएको थियो। पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ।