काठमाडौं: नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन्। त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन्।
एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन्। खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन्।
बढुवा सूचीको चौथो नम्बरमा रहेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन्।
उनीहरुलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ। एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ साल कात्तिकमा भर्ना भएका हुन्।
बाँकी ३ जना २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। २०५३ सालमै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोली नै बढुवामा छुटेको छ।
३० वर्षे सेवा अवधिका कारण ४ चैत २०८१ मा तत्कालीन महानिरीक्षक वसन्त कुँवरसँगै उनका ब्याचका एआईजीहरु अवकाशमा गएपछि ६ पद रिक्त भएको थियो। तर, राजनीतिक रस्साकस्सीका कारण एक महिनासम्म बढुवा हुन सकेको थिएन।
