काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर,काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो।
जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको लागि राजधानीको कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पुगेका रेशमलाई आज दिउँसो सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका थिए। पक्राउलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो। रेशम पक्राउ परेपछि सर्वोच्च अदालतको मुद्दा शाखाले प्रहरीलाई पठाएको पत्र सार्वजनिक भयो।

सो पत्र आउनासाथ खैलाबैला मच्चियो। सर्वोच्चबाट भएको फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयले सम्बन्धित निकायमा पत्राचार गर्नुपर्ने हो।
तर,मुद्दा शाखाले प्रहरीलाई पत्र पठाएपछि त्यहीँ शंका उब्जियो। अदालतमा मुद्दा विचाराधीन हुँदा कहिलेको आदेशले उनलाई पक्राउ गरियो ? भन्ने पत्रमा उल्लेख छैन।
यसबाट अदालत र प्रहरीकै पनि बिश्वसनीयतामा प्रश्न उब्जिएको छ।
यसबीच रेशमलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले उनलाई छाड्न अर्को पत्र पठाएको छ। सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका हुन्।
पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्चले अर्को पत्र पठाएपछि रेशम कारागार मुक्त भएका छन्।
