धनगढी: धनगढीस्थित विमानस्थलमा एकजना कर्मचारीसँग साढे ८ लाख रकम फेला परेको छ। धनगढी विमानस्थल हुँदै काठमाडौं जाने क्रममा चेकजाँच गर्दा जनताको तटबन्ध कार्यक्रम महेन्द्रनगरका प्रमुख समेत रहेका श्री प्रसाद शाहसँग सो रकम भेटिएको हो।
बुधबार प्रहरीले एक्सरे मेसिनमा चेकजाँच गर्दा सो रकम फेला पारेको थियो। त्यसपछि घटनाबारे एयरपोर्ट प्रहरीले माथिल्लो कार्यालयलाई रिपोर्ट गरेकोमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय हुँदै प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापासम्मै कुरा पुगेको थियो।
तर लाखौं रकम फेला परेका शाहलाई भने प्रहरीले छाडेको छ। अन्य नागरिकको हकमा नियन्त्रणमा लिने प्रहरीले सो रकमको स्रोत खुलेको भन्दै छाडिएको जनाएको छ।
यद्यपि स्रोतका अनुसार शाहलाई गृह मन्त्रालयको दबाबमा छाडेको बुझिएको छ। मन्त्रालयबाटै प्रेसर आएपछि प्रहरीले शाहलाई छाडेर उनी अर्को जहाजमा काठमाडौंसमेत उडिसकेका छन्।
अहिले प्रहरीलाई भने यस घटनाबारे जवाफ दिन सकस भैरहेको छ।