धनगढी: नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गरेको हो।
सोही क्रममा सुदूरपश्चिममा कार्यरत छ जना एसपीको पनि सरुवा भएको छ। कैलाली र कञ्चनपुर जिल्लामा नयाँँ प्रहरी प्रमुख आउने भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एसपी पदमबहादुर बिष्टको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ। उनको स्थानमा बालनरसिंह राणा आउने भएका छन्। उनी नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा काभ्रेबाट कैलाली सरुवा भएका हुन्। राणा उनै मान्छे हुन्, जसलाई यसअघि सिन्धुपाल्चोकमा हुँदा हाइड्रोपावर कम्पनी र क्रसरसँग पैसा असुलेको आरोप लागेको थियो।
तत्कालीन समयमा एसपी राणाले घुमुवा विनोद खड्कामार्फत असुली गरेको बताइएको थियो।
यस्तै नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत खडकबहादुर खत्रीको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सरुवा भएको छ। उनको स्थानमा नेपाल प्रहरी प्रदेश कार्यालय विरगञ्जबाट रामप्रकाश शाह आउने भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुका एसपी चक्रराज जोशीको भने जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा कार्यरत एसपी नविनकृष्ण भण्डारीको गण्डकी प्रदेश प्रहरी गण कास्की सरुवा भएको छ। उनको स्थानमा ऋषिराम कँडेलको सरुवा भएकोमा उनलाई काजमा प्रहरी प्रधान कार्यालयमा पठाइएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा कञ्चनपुरमा कार्यरत एसपी प्रेमबहादुर शाहीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया सरुवा भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका एसपी राजिवबहादुर बस्नेतको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएको छ।