काठमाडौँ: प्रहरी र अदालतलाई नै गुमराहमा राख्दै सर्वाेच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले एक पत्र बनाए। उनले बनाएको त्यो पत्र आफैंले काठमाडौं प्रहरी परिसरमा बुझाए।
सो पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी बुधबार केही घण्टा जेलमा परे। चौधरी अहिले भने रिहा भैसकेका छन्।
सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका चौधरीलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो।
प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो। त्यसपछि कारागार पुर्याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो।

सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो। सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ। यता सोही क्रममा प्रहरीले फेक पत्र काट्ने बिष्टलाई भने नियन्त्रणमा लिएको छ। बिष्ट उनै पात्र हुन्, जो निकै विवादित मानिन्छन्। उनी सिन्धुपाल्चोकमा गाविस सचिव हुँदादेखि नै विवादमा आएका पात्र हुन् भने नुवाकोटमा श्रेस्तेदार र कञ्चनपुरमा तहसिलदार हुँदासमेत विवादमा मुछिएका थिए।
सर्वाेच्च अदालतमा सेवा प्रवेश गर्नुअघि विष्ट नायब सुब्बाका रूपमा सिन्धुपाल्चोककै साविकको एउटा गाउँ विकास समितिमा सचिव थिए। सोही क्रममा गाविसका अध्यक्षसँग उनको विवाद भयो। विवाद बढेपछि विष्टले गाविस अध्यक्षलाई नै सरुवा गरिदिन्छु भनी धम्की दिएको चर्चा सर्वाेच्च अदालतमा अझै चल्ले गर्दछ। पछि ती गाविस अध्यक्ष डराएर सरुवा गराउन मिल्छ र भन्दै जिल्ला विकास समितिसम्म पुगेका थिए।
नायब सुब्बाबाट शाखा अधिकृत भई नुवाकोटमा स्रेस्तेदार बनेका विष्ट पछि कञ्चनपुर जिल्लामा तहसिलदार बनेर गएका थिए। दुई वर्ष अगाडि उनी कञ्चनपुरको तहसिलदार बन्दा स्रेस्तेदार बिदामा रहेको समयमा निमित्त स्रेस्तेदारको जिम्मेवारी सम्हालेका थिए। सोही समयमा एक कानुन व्यवसायीले ल्याएको निवेदन दरपीठ गरेपछि उनी फेरि विवादमा तानिएका थिए।
कञ्चनपुर जिल्ला अदालत बारले विष्टको सम्बन्धमा विज्ञप्ति नै निकालेर विरोध गरेपछि सर्वाेच्च अदालतले विष्टलाई कञ्चनपुरबाट तानेर सर्वाेच्च अदालतमा काजमा राखेको थियो। तर बुधबार फेरि यिनै विष्टले अर्काे कान्ड गरेका हुन्।
सर्वोच्च अदालत प्रशासन र आफ्नै महाशाखा प्रमुखसँग समेत समन्वय नगरी विष्टले रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेखेपछि उनी फेरि विवादमा आएका हुन्। यसपटकको विवाद सामान्य नभएर जटिल प्रकृतिको रहेको र क्षेत्राधिकार नाघेको कारण उनीमाथि कारबाही गर्ने तयारी गरिएको छ।
अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको समयमा उनले रेशम चौधरीलाई थुनामा राख्न भन्दै पत्रमात्रै काटेनन्, राष्ट्रपतिले अपराधको राजनीतीकरण गरेको आरोपसमेत लगाएका छन्।
त्यस्तै चाैधरीलाई पक्राउ गर्न व्यक्तिगत तजबिजमा प्रहरीलाई पत्र पठाएका सर्वाेच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट अहिले टक अफ दि टाउन बनिरहेका छन्। रेशमलाई केही घन्टाका लागि पक्राउ गराउन त उनी सफल भए, तर पाेल खुलेपछि आफैं हिरासत बस्नुपरेकाे छ।
प्रारम्भिक बयानमा उनले टीकापुरमा मारिएकाहरुकाे आत्माले पाेलेर याे कार्य गरेकाे बताएका छन् ।
दार्चुला स्थायी घर भएका नेपाल न्याय सेवा, न्याय समूहका शाखा अधिकृत बिष्ट अहिले सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत छन्।
करिब ५५ वर्ष उमेरमा महिमान न्यायसेवाकाे सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन्। उनी अर्काे वर्ष उपरजिष्टारमा बढुवा हुने लाइनमा छन्। न्याय सेवामा उपरजिष्टार भनेकाे उपसचिव सरह हाे।