काठमाडौं: कैलाली घर भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकता घोषणा सभाका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका उनलाई प्रहरीले त्यहीबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले चौधरी पक्राउ परेको पुष्टि गरे।
उनका अनुसार सर्वोच्च अदालतको फैसला कार्यन्वयनका लागि चौधरीलाई डिल्लीबजार कारागार पठाइएको छ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकताको गर्ने कार्यक्रममा पुगेका चौधरी त्यहीँ समातिएको बताइएको छ। सर्वोच्च अदालतले टीकापुर घटनामा थुनामा राख्न आदेश गरेकोमा उनी समातिएका हुन्।
बुधवार दिउँसो नागरिक उन्मुक्तिसँग जनमतको एकता कार्यक्रम तय भएको थियो। एकता कार्यक्रममा सहभागी हुन दुवै पार्टीका कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भइसकेका छन्। तर कार्यक्रम भने रोकिएको छ।
२०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले २०८० जेठमा चौधरीलाई आमाफी दिएका थिए। सो निर्णयविरुद्ध कैलालीको टीकापुरमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट हालेकी थिइन्।