धनगढी: कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या घटनामा नयाँ ट्वीस्ट आएको छ। हिजोसम्म अभियुक्त भनेकालाई छोडेर प्रहरीले नयाँ सक्कली अभियुक्तलाई समातेको जनाएको हो।
डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनीको हत्यामा संलग्न भएको आरोपमा हिजोमात्र हेमन्त बोहरा नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि बोहराले हत्या स्वीकार गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार बोहरा कैनीसँगै सडकपेटीमा बस्दै आएका थिए। यस अगाडि कैनीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माओवादीका पूर्व लडाकु समेत रहेका लामा थरमा पुरुषसहित तीन जना सडक पेटीमा बस्दै आएकाहरुलाई पक्राउ गरेको थियो।
उनीहरु मध्ये शारीरीक अपांगता समेत रहेका लामाले आफूले कैनीको हत्या गरेको प्रहरीलाई बयान दिएका थिए तर उनको बयानअनुसार सबुत प्रमाण नमिलेपछि अनुसन्धान अर्कैतर्फ मोडिएको थियो।
त्यसपछि अनुसन्धानका क्रममा अहिले पक्राउ परेका बोहराले मृतकले आफ्नो झोला र पैँसा चोरेका कारण हत्या गरेको बयान प्रहरीलाई दिएका छन्। हाल प्रहरी नियन्त्रणमा रहेका अर्का लामा थरका अभियुक्तले भने श्रीमतीलाई जिस्काउने, आपांग भनेर होच्याउने र पैँसा पनि चोर्ने गरेकाले ढुंगा प्रहार गरि हत्या गरेको बयान प्रहरीलाई दिएका थिए। तर उनले प्रहरीसँग डराएर बयान दिएको बताइएको छ।
बयानअनुसार प्रमाण नमिलेपछि प्रहरीले लामासहितका तीनै जनालाई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो। तर सोही क्रममा बोहरा समातिएका हुन्।
बोहराले घटनापछि धनगढीको एक होटलमा काम गरेको पनि खुलेको छ। कैनीको हत्या अभियोगमा पक्राउ परेका उनी २६ गते राति उनको हत्या गरेर फरार भएको पाइएको प्रहरीले जनाएको छ। २७ गते बिहान दुर्गा मन्दिर पछाडि कैनीको शव फेला परेको थियो।
कैनीको हत्यापछि सोही दिन अत्तरियाबाट भागेका उनी काम खोज्दै धनगढीको चौलानी होटल पुगेका थिए। उनी सोही दिनदेखि चौलानी होटलमा काममा लागेका थिए।
प्रहरीकाअनुसार बुधबार उनी घर जाने भन्दै होटलसँग दुई हजार रुपैयाँ मागेर विदामा गएका थिए। तर बोहरा घर नगएर दुर्गा मन्दिरमै गएर बसेका थिए। घटना भएकै दिनदेखि प्रहरीको खोजीमा रहेका बोहरा त्यहाँ पुगेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
र, यो पनि: कैलालीको अत्तरिया हत्याकाण्डको अन्तर्य यस्तो, प्रहरीलाई अझै उल्झन किन ?