धनगढी: कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ। बिहीबार दिउँसो दिउँसो करिब १ बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै गम्भीर अवस्थामा उनी फेला परेका थिए।
सल्फास नामक विषादीको खाली डब्बा र एउटा डायरी सँगै रहेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो। घरबाट करिब ९ः३० बजे निस्किएका शाहले केही व्यक्तिलाई ‘अब यो संसारमा म रहन्न’ भनेका थिए। ती व्यक्तिले नै प्रहरीलाई उनी जङ्गलतर्फ लागेको सूचना दिए। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसतर्फ गएको थियो।
‘सूचना पाएलगत्तै हामी त्यहाँ लाग्यौँ,’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले भने, ‘उहाँलाई गम्भीर अवस्थामा हामीले भेट्यौ र तत्काल उद्दार गरेर अस्पताल ल्यायौँ।’
प्रहरीले तत्काल नै घोडाघोडी अस्पताल ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। पोष्ट मार्टमको लागि अहिले शव सेती प्रादेशिक अस्पताल ल्याइएको छ। प्रहरीले भेटेको सुसाइड नोट माथि भने अनुसन्धान गर्ने जनाएको छ।
सुसाइड नोटमा उनले परिवारका सदस्यहरुलाई सम्बोधन गरेर आफ्ना भावनाहरू पोखेका छन्। त्यस्तै राजनीतिप्रति नैराश्य जगाउने सन्देश पनि दिएको प्रहरी स्रोतको भनाइ छ।
‘म आजको मितिबाट यो संसारमा रहन्नँ। सबैको बोझ भएँ। यो बोझमा रहन चाहन्न। सत्य सत्य रामराम। सबै मिलेर बस्नु। झैझगडा नगर्नू’, सुसाइट नोट लेखिएको छ।
सुसाइड नोटमा आफ्नो दाजुलाई सम्बोधन गर्दै राजनीतिमा नआउन पनि आग्रह गरेका छन्।
‘दाइ तपाई राजनीतिमा नआउनु। यो लाइन ठिक छैन। आफ्नै व्यापार गरेर खानु’ सुसाइट नोटमा भेटिएको छ।
सुसाइड नोटमा हस्ताक्षर र मिति पनि उल्लेख भएको पाइएको प्रहरीले जनाएको छ।
‘परिवारका सदस्यहरूले पनि सुसाइड नोटमाथि केही प्रश्न गर्नु भएको छ। हामीले अनुसन्धानको लागि पनि यो फोरेन्सिक ल्याबमा पठाउँछौँ,’ प्रहरी निरीक्षक साउँदले भने, ‘प्रारम्भिक रुपमा विष सेवनबाटै उहाँको मृत्यु भएको देखिन्छ। हामी अनुसन्धानमै छौँ।’
२०७४ सालको स्थानीय चुनावमा नेकपा (एमाले)बाट वडा नम्बर ९ मा विजयी भएका शाह अहिले नेकपा एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत थिए।