धनगढी: बाजुराको बुढीगंगा नगरपालिका- २ का ३१ वर्षीय शङ्करबहादुर थापा। जसका सुनौला सपना, रहर र योजना थिए होलान्। तर उनका सबै सपना, योजना र रहर उनीसँगै अकालैमा समाप्त भएका छन्।
पेशाले असिस्टेन्ट फर्मासिस्ट (स्वास्थकर्मी) समेत रहेका उनै थापाको अकालमै निधन भएको हो। पारिवारिक स्रोतका अनुसार थापाको उपचार सम्भव नभएर अकालमै घरमा ज्यान गएको हो।
करिब २ वर्ष अगाडिमात्रै उनी काठमाडौंमा बस्दै आएकोमा आमाको उपचारका क्रममा वीर अस्पताल पुगेका थिए। त्यस बेला उनलाई ज्वरो आयो। त्यसपछि चेकजाँच गर्दा उनलाई अचानक क्यान्सर भएको थाहा भएको थियो।

त्यसपछि आर्थिक स्रोत जुटाएर निरन्तर उपचार थालिएकोमा नेपालमा उपचार सम्भव नभएको भन्दै दिल्लीमा उपचार थालिएको थियो। दिल्लीको एम्स अस्पतालमा झण्डै एक वर्ष उपचार पनि गरियो। तर त्यहाँ पनि उपचार हुन सकेन। त्यसपछि उनलाई अस्पतालले २२ फेब्रुअरी २०२५ मा डिस्चार्ज गरेको थियो।
त्यसपछि उनी घर फर्केका थिए भने हिजो उनको निधन भएको हो। बोन म्यारो क्यान्सरमा (ब्लड क्यान्सर) कारण हिजो राति १२ बजे उनले प्राण त्यागेको बताइएको छ। उपचारमै झण्डै ८० लाख खर्चेर पनि उनको निधन भएपछि परिवार निकै शोकमा डुबेको छ।
