धनगढी: धनगढीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एक लाखभन्दा बढी नगदसहित १३ जनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–३ स्थित भाटभटेनी सुपरमार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लज मा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मार्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवरसहित धनगढी–३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षीय नवीन थापा, ३० वर्षीय मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द र घोडाघोडी नगरपालिका–२ का ४१ वर्षीय दुर्गा अधिकारी रहेका छन्।
त्यस्तै, बझाङको छविस पाथिभेरा गाउँपालिका–२ का ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका–६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका–१ का २८ वर्षीय दिनेश पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूको साथबाट नगद एक लाख १२ हजार ३२० रुपैयाँ, तीन गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल सबै पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ।