काठमाडौँ: माओवादीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले आज प्रदान गरेको पुरस्कारमा असहमति जनाउँदै केही पत्रकारले राजीनामा दिएका छन् ।
प्रेस सेन्टरको ललितपुर जिल्ला कमिटीलाई उत्कृष्ट घोषणा नगरिएकोमा अध्यक्षसहित आठ जना पदाधिकारीले राजीनामा दिएका छन् । उनीहरुले सेन्टरको साधारण सदस्यतासमेत त्यागेका हुन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा साँखुको एउटा रिसोर्टमा आयोजित कार्यक्रममा वितरित पुरस्कार असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको बताइएको छ ।
ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की,उपाध्यक्ष गोपाल आलेमगर,सचिव दीपक अर्याल,सहसचिव अनिल पन्त,कोषाध्यक्ष कृष्ण पौडेल,सहसचिव नारायण लिंखा देवान, ललितपुर महानगर समिति सचिव राजु नेपाल संयुक्त राजीनामा बुझाउनेमा छन् ।
संयुक्त राजीनामा दिनेमा प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश कमिटीका सदस्य राममणि घिमिरे पनि छन् । मधेश प्रदेश कमिटीका अध्यक्ष किरण कर्णले पनि राजीनामा दिएको बताइएको छ ।