काठमाडौँ: पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको सजाय माफी नगर्न माग गरेको छ । मानवअधिकार उल्लङ्घनलाई प्रश्रय दिने, स्थापित कानुनी मूल्यमान्यता भत्काउने विधिको शासनको उपहास गर्ने क्रियाकलाप मान्य नहुने उनीहरूले बताएका हुन् ।
‘कर्तव्य निर्वाह गर्दै रहेका प्रहरीहरूको नृशंस हत्या गरी मानवअधिकारको समेत घोर उल्लङ्घन गरेका अपराधीहरूलाई राजनैतिक स्वार्थका आधारमा माफी दिनु आफैंमा अक्षम्य अपराध हो । बहालवाला प्रहरी कर्मचारीको मनोबल कमजोर पार्ने र अपराधीको मनोबल बढ्ने कुरामा दुई मत हुनै सक्दैन । जसले आफ्नो प्राण आहुति गरे तिनका परिवारको मर्ममा थप मर्म थपिने गरी सजाय माफी गर्ने हो कि भन्ने संशय भएको पाइएकोले यसबाट हामी पूर्व प्रहरीहरूको आत्मसम्मानमा समेत आघात पुगेको र आफ्नो घोर उपेक्षा र अपमान भएको बुझेका छौँ,’ पत्रमा भनिएको छ ।