काठमाडौं: भारतमा आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ। नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ।
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्रले कुटनीतिक विवाद सिर्जना गरेको बताएका छन्।
नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई समेत भित्तेचित्रमा भारतले आफ्नै भू–भाग जसरी दर्शाउँदा दुई देशबीचको द्विपक्षीय सम्बन्धमा दरार ल्याउने उनको भनाइ छ । भट्टराईले ट्विटमा लेखेका छन् ‘यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ । विश्वासको सङ्कटलाई अझ बढाउने सम्भावना देखिन्छ । यो भित्तेचित्रको अभिप्राय र सन्देशलाई भारतले बेलैमा प्रस्ट पार्नुपर्ने देखिन्छ ।’
संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उद्घाटन गर्नुभएको थियो ।