काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जका पूर्व वरिष्ठ निरीक्षक शशी भूषण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
झन्डै साढे चार करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सार्वजनिक सेवामा कार्यरत रहँदा अनुचित लाभ लिएर गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको दाबी छ।
अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको ८ जेठ ०४६ देखि ०७९ असार मसान्तसम्मको आम्दानी र खर्च तथा लगानीको विश्लेषण गरेको थियो।
उक्त अवधिमा उनको समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ आफू र एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, बिमाको प्रिमियम भुक्तानी, सेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण र सापटीको साँवाब्याज भुक्तानी, पारिवारिक घरखर्च, विभिन्न शीर्षकमा राजस्व र कर तिरेको र बैंक मौज्दातसमेत गरी कुल सात करोड २४ लाख ५६ हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ।
सोही अवधिमा उनको पारिश्रमिक र तलबबाट जीवन निर्वाह खर्च कटाई बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक बचत, कृषि आयबाट बचत, घरभाडा, बुहारीको पारिश्रमिक बचत, बिमा फिर्ता, विदेश तालिम आयबाट बचत, ऋण सापटी, उपचार खर्च, सञ्चित बिदाको रकम, कर्मचारी सञ्चय कोष फिर्ता रकम, नागरिक लगानी कोष, श्रीमतीको अवकाशबाट प्राप्त रकम, निजको पेन्सन आयबाट बचत र छोराको तलब बचतसमेत गरी जम्मा दुई करोड ७७ लाख २२ हजार आय आर्जन देखिएको थियो।
सम्पत्ति जफत प्रयोजनका लागि अख्तियारले उनकी पत्नी रिता रानी र पुत्रद्वय अविनाश यादव र विकास यादवलाई पनि प्रतिवादी कायम गरेको छ।