काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा गएका छन्। आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने दिल्ली गएको रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
आजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भारतको चार दिने औपचारिक भ्रमणमा गएका छन्। लामिछाने पनि हवाईमार्ग हुँदै आजै दिल्ली गएका हुन्। प्रधानमन्त्री भारत गएकै दिन पारेर लामिछाने किन गए भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
लामिछाने पत्नी निकिता पौडेललाई साथमा लिएर भारत गएका हुन्। उनले भारत जाँदा संसदीय दलको कार्यवाहक जिम्मेवारी दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिएका छन्।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी केही दिनअघि नेपाल आउँदा लामिछानेसँग भेट गरेका थिए। प्रह्लाद विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्षसमेत हुन्। दिल्लीमा रहँदा उनै मोदीसँग पनि लामिछानेको भेट हुने बताइएको छ।