बैतडी: स्याउ उत्पादनका लागि प्रसिद्ध रहेको बैतडीको सतबाँझमा फेरी स्याउ फल्न थालेको छ। लामो समयपछि सुख्खा फलफूल विकास केन्द्र सतबाँझको क्षेत्रभित्र स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मरसिंह भाटले बताए।
विगत दुई दशक यता पहिलो पटक सतबाँझमा स्याउ फल्न थालेको हो। सतबाँझमा कम हिउँ पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको थियो। पछिल्लो समयमा नयाँ जातका स्याउका बिरुवा रोपेपछि स्याउ फल्न थालेको भाटले बताए।
समुद्री सतहदेखि १८ सयदेखि २३ सय मिटर सम्मको उचाइमा रहेको सतबाँझमा बोरिङ सिँचाइ प्रणालीको समेत व्यवस्था गरिएको छ । सिँचाइ सुविधाका कारणले पनि स्याउले फल दिन थालेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए ।
सुख्खा फलफूल विकास केन्द्रको क्षेत्रभित्र अहिले १ हजार ५ सयको हाराहारीमा स्याउका बिरुवा रहेका र ती मध्ये ४ सय जतिले फल दिन थालेको खड्काले बताए।
सत्बाँझामा अहिले फुजी, गाला, रेडग्रामिस्टन, गोल्डेन डेलिसियस, रेड डेलिसियस, रोयल डेलिसियस लगायत हाइचिलिङ जातका स्याउहरु बारीमा लगाइएका छन्।