डडेल्धुरा: डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउन मुआब्जा वितरणको कार्य जारी छ । बागबजार–किर्तीपुर सडक खण्डअन्तर्गत पहिलो चरणमा बागबजार क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण गरिएकोमा अब बगरबाटा, तुफानडाँडा र किर्तीपुर लगायतका क्षेत्रमा परेका घर तथा जग्गाको मुआब्जा वितरण गरिने भएको हो ।
दोस्रो चरणमा मुआब्जा वितरण गर्न संघीय सरकारले ३० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मुआब्जा दाबी गर्न जग्गा र घरधनीका लागि सूचना जारी गरेको हो ।
मुआब्जा दाबी गर्नका लागि २ सय ९२ जनाको नाममा १५ दिने सूचना जारी भएको छ । जग्गाधनी पूर्जाको प्रतिलिपि, नागरिकता, प्यान कार्ड, बैंक खताको चेकको प्रतिलिपि र तिरो तिरेको प्रमाणसहित निवेदन दिन जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत घर र जग्गाधनीलाई आग्रह गरेको छ । यसअघि बागबजार क्षेत्रका जग्गा र घर धनीलाई २० करोड मुआब्जा वितरण गरिएको छ ।